७ साउन, काठमाडौं । बिमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छिन् ।
उनले सोमबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन् र मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
अध्यक्ष शरद ओझाको शैक्षिक योग्यतामाथि छानबिन भइरहेको यस संवेदनशील समयमा ओझापछि नियुक्त भएकी पोखरेलको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पोखरेल चैत १ गते बिमा प्राधिकरणको सञ्चालक नियुक्त भएकी थिइन् । यद्यपि, पोखरेलले आफ्नो राजीनामाको कारण व्यक्तिगत स्वास्थ्य र पारिवारिक अवस्था रहेको बताएकी छिन्। ‘म गर्भवती भएँ, स्वास्थ्यका कारण बेडरेस्ट गर्नुपर्यो। समय दिन नसक्ने भएपछि किन पद ओगट्नु भनेर पहिले नै राजीनामा दिन्छु भन्दै आएको थिएँ, अब चाहिँ सक्दै नसक्ने भएँ भनेर राजीनामा दिएको हुँ,’ उनले स्पष्ट पारिन् ।
पोखरेलको राजीनामासँगै बिमा प्राधिकरणको सञ्चालक समिति तीन सदस्यमा सीमित भएको छ। अहिले अध्यक्ष सेबन्तक पोखरेलबाहेक कानुन मन्त्रालयबाट मानबहादुर अर्याल र बीमितबाट सन्तोष रिजाल मात्र सदस्य रहेका छन् ।















