Logo

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवाहरूलाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नोत्तरका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले विसं २०८२ देखि २०९२ लाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार नेपालका प्रमुख विकासका क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ का रूपमा पुनर्संरचना गरी यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको बताए।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेस प्रदेशका २० पालिकामा ुरेमी परियोजनाु अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पनि उनले जानकारी दिए। यस्तै, ‘जेन जी’ पुस्तालाई लक्षित गरी स्टार्ट अप र नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको प्रधानमन्त्रीले बताए।

भ्रष्टाचारमा शून्य सहनशीलताको प्रतिबद्धतामा प्रश्न

भ्रष्टाचारबारेको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने आफ्नो अठोटमा स्पष्ट रहेको बताए । उनले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनाहरूलाई कुनै पनि हालतमा नसहने स्पष्ट पारे, तर कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए ।


सम्बन्धित समाचार