प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ५० रुपैयाँको नोटको आपूर्ति सहज बनाउन र पुराना नोटहरू प्रतिस्थापन गर्न ४२ करोड थान नयाँ ५० रुपैयाँका नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज जारी गरेको सार्वजनिक सूचनामार्फत सुरक्षित छपाइ र आपूर्तिका लागि विश्वव्यापी टेन्डर आह्वान गरेको हो । यो बोलपत्र ‘सिंगल स्टेज टु इन्भेलोप प्रणालीमा आधारित हुनेछ। यसअनुसार, टेन्डर प्रक्रियामा सहभागी हुने कम्पनीहरूले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव दुवै छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस छपाइ कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जानकारी दिएको छ ।

बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार निर्धारण गरिएको छ। यदि विदेशी मुद्रामा भुक्तानी गर्ने हो भने, यो १४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउण्ड स्टर्लिङ बराबर हुनेछ। बोलपत्र कागजात खरिद गर्न चाहने कम्पनीहरूले तोकिएको रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।

बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते तोकिएको छ। पेश गरिएका बोलपत्रहरू कम्तीमा १२० दिनसम्म मान्य रहनेछन् र हरेक बोलपत्रका साथमा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले आफ्नो अधिकार प्रयोग गर्दै कुनै पनि वा सम्पूर्ण बोलपत्रहरू रद्द गर्ने अधिकार सुरक्षित राखेको छ। यो कदमले बजारमा ५० रुपैयाँका नोटको अभाव पूर्ति गर्दै स्वच्छ मुद्रा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार