Logo

११ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष पदमा आँखा गाडेका कारण केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन्।

बालुवाटारमा कर्णाली प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

ओलीको अप्रत्याशित टिप्पणी

ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरूले कल्पनासमेत नगरेको बताए । उनले भने, ‘देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नुपरेको हो ।’ ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावक र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्ति हुन्। उनले थपे, ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं। लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयं उहाँकै कद घटाउने काम गरेको छ।’

पार्टीभित्रको ‘हावाको झोक्का’ र आगामी रणनीति

ओलीले पार्टीमा देखिएको ‘हावाको झोक्का’को पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिए। उनले भने, ‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं। अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईँहरू यसमा अल्मलिनु भन्दा आ(आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।

आफूले पार्टीको नेतृत्व सम्हालेदेखि नै पार्टीलाई देश र जनताको पक्षमा उभ्याउने तथा राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको कारण पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको ओलीको भनाइ थियो। उनले एमालेको अबको ध्यान २०८४ सालमा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

 


सम्बन्धित समाचार