Logo

११ साउन, काठमाडौं । लगातार आठ दिनको वृद्धिपछि सेयर बजार परिसूचक नेप्सेले नवौँ दिनमा करेक्सनको बाटो लिएको छ ।

आइतबार बजार ३ हजारको मनोवैज्ञानिक विन्दुलाई छोएर पुनः तल झरेको हो, जसले बजारमा ‘सेलर’ (विक्रेता) हाबी भएको संकेत गरेको छ। दिनभरको उतारचढावपछि बजार बन्द हुँदा नेप्से १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा झरेको छ । आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये १८६ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ६३ कम्पनीको मात्रै मूल्य बढ्यो। कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।

कारोबार रकम र सक्रिय कम्पनीहरू

बजार घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज दिनभरमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ५ करोड ८६ लाख कित्ता सेयर २ लाख ३ हजार ६५८ पटक कारोबार भएको थियो । कारोबार रकमका आधारमा शिवम सिमेन्ट्स सबैभन्दा अगाडि रह्यो, जसको १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनी, ङादी ग्रुप पावर इन्स्योरेन्स, कालिका पावर कम्पनी पनि उच्च कारोबार गर्ने कम्पनीको सूचीमा रहे ।

सर्किट लागेका र घटेका कम्पनीहरू

बजार घटेको दिनमा पनि समता लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ, जसले लगानीकर्तालाई राम्रो आम्दानी दिलायो । यद्यपि, नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । आज चारवटा समूहका सूचक बढेका छन्, जसमा विकास बैंक र ट्रेडिङ क्षेत्रमा १ प्रतिशतभन्दा धेरैले वृद्धि भयो। फाइनान्स समूह सबैभन्दा धेरै २ प्रतिशतभन्दा बढीले घटेको छ।

असार ३२ गते २७२५ अंकमा रहेको नेप्से गत बिहीबार २९८२ अंकमा पुगेको थियो, जुन करिब २५७ अंकको वृद्धि हो । सो बराबरको वृद्धिपछि बजारमा यो करेक्सन देखिएको हो ।

 


सम्बन्धित समाचार
भर्खरै