१२ साउन, काठमाडौं । । सोमबार पनि नेपाली शेयर बजारमा गिरावटको क्रम जारी रह्यो ।
बजार परिसूचक नेप्से २ दशमलव ०७ अंकले घटेर २९६२ अंकमा कायम भएको छ। हिजो आइतबार पनि नेप्से १८ दशमलव ४४ अंकले घटेको थियो । कारोबार खुल्ने बित्तिकै बजार ओरालो लागेको थियो। दिउँसो १२ः३८ बजे नेप्से २९१८ अंकसम्म झरेर आजको न्यूनतम विन्दुमा पुगेको थियो। त्यसपछि केही सम्हालिए पनि बजार अन्ततः झिनो अंकले रातोमै बन्द भयो।
कारोबार रकम घटेपनि केही समूहमा उछाल
आज कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा सोमबार १९ अर्ब ३६ करोडमा सीमित भयो। यद्यपि, गिरावटबीच केही समूहमा भने उछाल देखिएको छ। विकास बैंक र व्यापार समूहको सूचक ३ प्रतिशतभन्दा धेरैले बढेका छन्। व्यापार समूह ३ दशमलव २४ प्रतिशत र विकास बैंक समूह ३ दशमलव ०४ प्रतिशतले बढे। यस्तै, फाइनान्स २ दशमलव ७५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ७१ प्रतिशतले बढेका छन् ।
तर, बैंकिङ ० दशमलव ८९, होटल तथा पर्यटन ० दशमलव २८, हाइड्रोपावर ० दशमलव ५०, लगानी ० दशमलव १०, जीवन बीमा ० दशमलव ६६, माइक्रोफाइनान्स ० दशमलव ३३, निर्जीवन बीमा ० दशमलव ७२ र अन्य ० दशमलव ७६ समूहमा भने गिरावट आएको छ।
दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि
आज समता घरेलु लघुवित्त र सान्भी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतको सर्किट लाग्यो। सान्भी इनर्जी सूचीकृत भएदेखि नै लगातार १० प्रतिशतको दरले बढ्दै प्रतिकित्ता ६९८ दशमलव ६२ रुपैयाँ पुगेको छ। त्यस्तै, ट्रेड टावरको मूल्य ९ दशमलव ५३ प्रतिशत बढेर ७८० दशमलव ९४ रुपैयाँ पुग्यो। हिमालयन डिस्टिलरीको ५ दशमलव ८० प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ५ दशमलव ७३ प्रतिशत मूल्य बढ्यो ।
यता, विन्ध्यबासिनी हाइड्रोपावरको ८ दशमलव ४९ प्रतिशत, ग्रिन भेन्चर्सको ५ दशमलव ०८ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ४ दशमलव ४१ प्रतिशत मूल्य घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर रहेका छन् । बजारको कुल पुँजीकरण ४९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

















