प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ साउन,जनकपुर । खडेरीले मारमा परेका मधेस प्रदेशका किसानलाई राहत पु¥याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खेतमा सिचाइँका लागि स्यालो ट्युबवेल जडान गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

मन्त्री जनार्दन सिंह क्षेत्रीको अग्रसरतामा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत मधेस प्रदेशका सबै आठ जिल्लामा किसानको खेतमा स्यालो ट्युबवेल जडान गरिनेछ। हालैसम्म लामो समयदेखि वर्षा नहुँदा प्रदेशभर सिचाइँ संकट उत्पन्न भएको छ। अधिकांश क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन भने रोपिएको धान समेत खडेरीका कारण सुक्न थालेको छ।

किसानका लागि तत्काल राहतको पहल
मन्त्री क्षेत्रीले तत्कालीन संकट समाधानका लागि स्यालो ट्युबवेल जडान गर्न निर्देशन दिएका हुन्। यस अनुसार पर्सा, बारा, रौतहटलगायत आठवटै जिल्लाका कृषि ज्ञान केन्द्रहरूले सूचना प्रकाशित गरी किसानहरूलाई आवेदन दिन आह्वान गरेका छन्।

उनका अनुसार हालसम्म किसानबाट धमाधम आवेदन आइरहेको छ र सबै प्रक्रिया पूरा गरेर १० दिनभित्रै ट्युबवेल जडानको काम सुरु गरिनेछ।

१७ करोड ५५ लाख स्यालो ट्युबवेलमै खर्च
मन्त्री क्षेत्रीले यस कार्यका लागि चालु आर्थिक वर्षमा ६ करोड ५५ लाख रुपैयाँ सिधा स्यालो ट्युबवेल जडानका लागि विनियोजन गरिएको जानकारी दिए। साथै बाली प्रवर्धन शीर्षकअन्तर्गतको ११ करोड रुपैयाँ समेत समेटेर जम्मा १७ करोड ५५ लाख रुपैयाँ स्यालो ट्युबवेलमा खर्च गरिने निर्णय भएको उनले बताए।

उनले भने, “संकटकालीन अवस्थामा मन्त्रालयको नियमित बजेटबाट नै यो अभियान सुरु गरेका छौँ। प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेकाले थप राहतको लागि मुख्यमन्त्रीसँग छलफल गरी थप बजेट माग गर्ने तयारी पनि छ।”

गत वर्ष २ हजारभन्दा बढी किसानलाई स्यालो ट्युबवेल
मन्त्री क्षेत्रीका अनुसार अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले २ हजारभन्दा बढी किसानलाई स्यालो ट्युबवेल वितरण गरिसकेको छ। यस वर्षको अवस्था झनै गम्भीर बनेकाले थप व्यवस्थित र तीव्र गतिमा कार्यक्रम अघि बढाइएको हो।

यो अभियानले खडेरीबाट प्रत्यक्ष प्रभावित मधेसका किसानलाई राहत प्रदान गर्ने र धान उत्पादनमा पर्ने असर न्यूनिकरण गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार