१५ साउन, काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल आयोजना गर्ने भएको छ।
यो महत्त्वपूर्ण प्रतियोगिता जनवरी १२ देखि फेब्रुअरी १६, २०२६ सम्म नेपालमा आयोजना हुनेछ। सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि १० टोलीबीच नेपालमा छनोट खेलहरू हुनेछन्। यीमध्ये उत्कृष्ट ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
२०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड सिधै छनोट भइसकेका छन् । थाइल्यान्ड र नेपालले एसिया क्षेत्रबाट छनोट खेलका लागि योग्यता हासिल गरेका छन् ।अमेरिकाले यो स्थान सुरक्षित गरिसकेको छ। अफ्रिका र युरोपबाट २–२ टोली तथा पूर्वी एसिया प्रशान्त क्षेत्रबाट १ टोली छनोट हुनेछन् ।
नेपालमा हुने छनोट खेलमा सहभागी १० टोलीलाई ५–५ टोलीका दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि एक ‘सुपर सिक्स स्टेज’ र त्यसपछि फाइनल खेल हुनेछ। आईसीसीले छनोट खेलको विस्तृत तालिका पछि सार्वजनिक गर्ने जनाएको छ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको यस्तो महत्त्वपूर्ण प्रतियोगिता आयोजना हुनु नेपाली क्रिकेटका लागि एक ठूलो अवसर हो। यसले महिला क्रिकेटको विकासमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

















