१५ साउन, काठमाडौं । लगातार दोस्रो दिन पनि नेपाली सेयर बजारमा गिरावट आएको छ ।
अघिल्लो दिन करिब ४८ अंकले घटेको नेप्से परिसूचक बिहीबार थप ३१ दशमलव ५० अंकले घटेर २९२२ अंकमा कायम भएको छ। बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ, जसले लगानीकर्तामा केही चिन्ता बढाएको छ।
बिहीबारको कारोबार दिन उतारचढावपूर्ण रह्यो। बजारको अधिकतम विन्दु बिहान ११ः२४ बजे २९६७ अंक पुगे पनि बन्द हुने बेलामा भने न्यूनतम २९२२ अंकमा झर्यो।
अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा बिहीबार १५ अर्ब ९८ करोडमा सीमित भयो। कुल ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घट्यो। फाइनान्स समूह १ दशमलव १८ प्रतिशतले बढे पनि व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ४४ प्रतिशतले घट्यो। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहका सूचकहरू पनि घटेका छन् ।
धेरै बढ्ने र कारोबार हुने कम्पनीहरू
बिहीबार तीन कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि देखियो। ती कम्पनीहरूमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्। यस्तै, धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक समावेश छन्।
पुनर्बीमा कम्पनीहरूको पूँजी वृद्धिको तयारी
यसैबीच, बिहीबारदेखि जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुल्ला भएको छ। साथै, नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरूले आफ्नो न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेअनुसार नेपाल पुनर्बीमा कम्पनीले यो निर्णय गरेको हो। यसले पुनर्बीमा क्षेत्रमा थप पूँजी आउने संकेत गरेको छ।















