१५ साउन, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसका सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मधेस प्रदेशमा बढ्दो सुख्खा र त्यसका कारण देखिएको खानेपानी अभावलाई तत्काल सम्बोधन गर्न आवश्यक बजेट व्यवस्थापन गरेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो।समिति सभापति कमला पन्तका अनुसार, देशका अन्य स्थानहरूमा पनि खानेपानीको समस्या गम्भीर बन्दै गएको हुँदा त्यसको दीर्घकालीन समाधानका लागि समेत सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
बैठकले देशव्यापी खानेपानी समस्या समाधानका लागि अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न सांसद उर्मिला अर्यालको संयोजकत्वमा विशेष समिति गठन गरेको पनि सभापति पन्तले जानकारी दिइन्।
बैठकमा सहभागी सांसदहरूले मधेसका जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानी अभावलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य नारायणकाजी श्रेष्ठले जनताको पहिलो आवश्यकता खानेपानी भएको उल्लेख गर्दै, सरकारले यसतर्फ गम्भीर भएर ठोस कदम चाल्नुपर्ने धारणा राखे।
समितिले खानेपानी आपूर्ति योजनालाई दिगो बनाउने, दीर्घकालीन समाधानका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझावसमेत बैठकमार्फत दिएको छ।















