१६ साउन, राजविराज । सप्तरीमा एक नाबालिगमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । राजविराज नगरपालिकाकी ती बालिकालाई चार जना युवाको समूहले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
बुधबार राति करिब ८ बजेतिर घरअगाडि बसिरहेकी बालिकालाई युवाहरूले अपहरण गरी जबरजस्ती करणी गरेको पीडित परिवारले बताएको छ । आरोपितहरूले बालिकालाई रातभर आफ्नो नियन्त्रणमा राखेर बिहानपख घरमै ल्याएर छोडेका थिए ।
घटनाबारे जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान थालेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० जितेन्द्र कुमार बस्नेतले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएका छैनन् ।
प्रहरीले पीडित परिवारबाट हालसम्म औपचारिक जाहेरी प्राप्त नभएको जनाएको छ । जाहेरी आइसकेपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने डीएसपी बस्नेतले बताए। यस घटनाले स्थानीय समुदायमा आक्रोश र चिन्ता बढाएको छ ।

















