प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ साउन,काठमाडौं । पछिल्लो तीन वर्षमा ‘भिजिट भिसा’मा विदेश जाने नेपाली महिला यात्रुको संख्या तीन गुणाले वृद्धि भएको छ। सन् २०२१ मा १४.४ प्रतिशत रहेको महिला यात्रुको अनुपात सन् २०२४ मा बढेर ४२.१ प्रतिशत पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यूएई, थाईल्यान्ड, ओमान, मलेसिया र कुवेतजस्ता मुलुकमा महिला यात्रुको उल्लेखनीय उपस्थिति देखिएको छ। विशेषतः यूएई, ओमान र कुवेतमा पछिल्लो पाँच वर्षमा महिला यात्रुको कुल संख्या पुरुषको भन्दा बढी रहेको तथ्यांकले देखाएको छ।

दलाली र झुटा प्रलोभनमा परेर ठगिने क्रम बढ्दो
भिजिट भिसाको नाममा रोजगारीको लक्ष्यसहित विदेश जान खोज्ने सर्वसाधारण दलाल र एजेन्टहरूको झुटा प्रलोभनमा परी पटक–पटक ठगिने गरेका छन्। श्रम स्वीकृति प्रक्रिया झन्झटरहित नहुनु, लागत कम देखिनु, छिटो विदेश जान सकिने लोभ, तथा सरकारी निगरानीको अभावले गर्दा भिजिट भिसा रोज्नेको संख्या बढेको हो।

सन् २०२४ मा भिजिट भिसा यात्रु २ लाख ७१ हजार नाघे
विभागका अनुसार सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ नेपालीले भिजिट भिसामा विभिन्न देशको यात्रा गरेका छन्। सन् २०२३ मा २ लाख २ हजार ४१९ र २०२२ मा १ लाख ७५ हजार ७९० जनाले भिजिट भिसामा यात्रा गरेका थिए। हालसम्म सन् २०२५ को जुलाई महिनासम्म यो संख्या १ लाख ३४ हजार ८२५ पुगेको छ।

अध्यागमन सुधारका लागि प्रविधि र समन्वयमा जोड
अध्यागमन प्रमुख नरहरि घिमिरेका अनुसार अध्यागमन प्रक्रियालाई पारदर्शी, सुरक्षित र जवाफदेही बनाउन कार्ययोजना तयार पारिएको छ। उनले दलाली नियन्त्रण, श्रम बजारसम्मको पारदर्शिता र अन्तरसंस्था समन्वयमार्फत समस्या समाधान सम्भव हुने बताए।

“राष्ट्रको गरिमासँग जोडिएको विषय भएकाले अध्यागमन सुधारमा सबै निकायको सहकार्य आवश्यक छ,” घिमिरेले भने, “सुधार प्रविधिमा आधारित र दीर्घकालीन सोचसहित अगाडि बढ्नुपर्छ।”

सरकारले अध्यागमन सुधार, सुरक्षामा सशक्तीकरण, महिला सुरक्षामा ध्यान, र दलाली चक्र नियन्त्रण गरी विदेश जाने प्रक्रियालाई व्यवस्थित बनाउने स्पष्ट संकेत दिएको छ।


सम्बन्धित समाचार