Logo

२० साउन, मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री नियुक्त भएका छन्। तर उनको कार्यकाल जम्मा ७ महिना २० दिन मात्र रहने भएको छ।

बानियाँले मंगलबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनले सोमबार कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

तर, बानियाँको कार्यकाल छोटो हुनुको कारण २०७८ असार १७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको मुख्यमन्त्री २०–२० महिनामा बाँडेर गर्ने सहमति हो। सो सहमति अनुसार पहिलो २० महिना कांग्रेसले र त्यसपछि २० महिना एमालेले मुख्यमन्त्रीको नेतृत्व गर्ने सहमति भएको थियो।

यसअनुसार बानियाँले २०८२ चैत ७ गते आफ्नो पद एमालेलाई हस्तान्तरण गर्नुपर्नेछ। यद्यपि कांग्रेस भित्रकै विवादका कारण बानियाँको कार्यकाल अझ छोटिएको हो।

यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामा र बानियाँबीच पनि आधा–आधा कार्यकाल बाँड्ने सहमति भएको थियो। तर लामाले समयमै पद नछाडेपछि बानियाँ पक्षले अविश्वास प्रस्तावमार्फत लामालाई हटाएर नेतृत्व लिएको थियो। यसले गर्दा बानियाँको कार्यकाल धेरै घटेको हो।

राजनीतिक सहमतिहरूको पालना र आन्तरिक शक्ति संघर्षका कारण बागमती प्रदेशको सत्ता समीकरण फेरि पनि चर्चाको विषय बन्ने देखिएको छ।


सम्बन्धित समाचार