Logo

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन आयोगमाथि साना राजनीतिक दलहरूप्रति पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन्। उनले आयोगले साना दलहरूको अभिलेख अद्यावधिक नगरेको र साना पार्टीहरूलाई हटाउने रणनीति अवलम्बन गरिरहेको दाबी गरेका छन्।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको नौ राजनीतिक दलहरूको संयुक्त बैठकमा राउतले यस्तो टिप्पणी गरेका हुन्। बैठकमा निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ विषयमा गम्भीर छलफल भएको थियो।

राउतले भने, “निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेर हटाउने रणनीति बनाएको छ। आयोगको यो पक्षपातपूर्ण व्यवहारविरुद्ध अब एकीकृत प्रतिवाद आवश्यक छ।”

बैठकमा सहभागी दलहरूले आयोगको कार्यविधि संविधान, कानुन र दलहरूको स्वतन्त्र अस्तित्वविपरीत भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध साझा धारणा बनाउने तयारी थालेका छन्।

निर्वाचन आयोगले साउन २२ गतेभित्र सुझाव पेश गर्न सबै राजनीतिक दललाई आग्रह गर्दै राजनीतिक दल स्वमूल्यांकन कार्यविधिको मस्यौदा पठाएको छ। तर, प्रमुख दुई दल — नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूले यो कार्यविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।

बैठकमा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, तमलोपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

दलहरूले अब आयोगको प्रस्तावित कार्यविधिको विरोधमा औपचारिक रूपमा साझा धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।


सम्बन्धित समाचार