Logo

३० साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन २७ गते जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका केही अधिवक्ताहरूले गरेको आक्रमणमा संलग्न दोषीमाथि तत्काल कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो।

महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरन साहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा यस घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमाथिको गम्भीर प्रहार भनिएको छ।

महासंघका अनुसार, श्रीराम गुठीको स्वामित्वमा रहेको चार कठ्ठा जग्गा महासंघले २० वर्षका लागि लिजमा लिएको थियो। महासंघको भवन निर्माणका लागि लिइएको उक्त जग्गामा तारबार लगाउने काम भइरहेको बेला अधिवक्ताहरूको एक समूहले उक्त जग्गा कब्जा गर्ने उद्देश्यले हुलदंगा गर्दै पत्रकारमाथि आक्रमण गरेको महासंघको आरोप छ। उनीहरूले त्यो जग्गालाई पार्किङका रूपमा प्रयोग गर्न खोजेको महासंघले जनाएको छ।

आक्रमणबाट पत्रकार घाइते

आक्रमणमा महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका छन्। घाइतेमध्ये सञ्चारकर्मी दिवाकर रायको अवस्था गम्भीर रहेको र महासचिव शैलेन्द्र महतोको खुट्टा दुई ठाउँमा भाँचिएको ज्ञापनपत्रमा उल्लेख छ। यसबाहेक, महिला पत्रकारहरूमाथि अभद्र व्यवहार र आपत्तिजनक शब्दहरू प्रयोग गरिएको पनि जनाइएको छ।

प्रहरीको भूमिकामाथि प्रश्न

घटनापछि महासंघले तत्काल स्थानीय प्रशासन र प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म कुनै पनि दोषी पक्राउ नपरेकोमा महासंघले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ। ज्ञापनपत्रमा घटनाको अनुसन्धानमा प्रहरीले उदासीनता देखाएको भन्दै यसले कानूनी शासनको गरिमामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ।

महासंघले ज्ञापनपत्रमार्फत घटनामा संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिनपछि कडा कारबाही गर्न र प्रेस स्वतन्त्रताको रक्षाका लागि सरकारले प्रभावकारी कदम चाल्न माग गरेको छ।


सम्बन्धित समाचार