Logo

३० साउन,सेढवा । सावन महिनामा पर्साको ग्रामीण क्षेत्रमा सर्पदंशका घटनामा तीव्र वृद्धि देखिएको छ। लामो समयको गर्मीपछि आंशिक वर्षा सुरु भएको मौसमीय परिवर्तनले सर्पको गतिविधि बढेपछि सर्पको टोकाइबाट घाइते हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

जिराभवानी गाउँपालिका वडा नं. १ भवानीपुर निवासी सत्यदेव चौधरीका अनुसार, हालको गर्मी, चिसो र उकुसमुकुस वातावरणका कारण सर्पहरू दुलोबाट निस्कने क्रम बढेको छ। उनले गत साता मात्र आफ्नै गाउँमा ५ जना सर्पदंशका बिरामी फेला परेको जानकारी दिए। तीमध्ये महादेवपटी, शान्तिनगर र सेढवामा एक–एक जनालाई सर्पले टोकेको थियो।

सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी

सर्पदंशको उपचारका लागि ठोरी गाउँपालिका–४ मा रहेको सर्पदंश उपचार केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा रहेको छ। घाइतेहरूलाई छिटो उपचार गराउने व्यवस्था हुँदा धेरैको ज्यान जोगिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ८५ जना बिरामीले उपचार लिएका थिए। यस वर्ष सावन महिनामा मात्र ३९ जना बिरामी केन्द्रमा आएका छन्, जसले सावनमा सर्पदंशका घटना बढेको पुष्टि गर्दछ। ती सबै बिरामीको उपचार सफल भएको र सकुशल घर फर्किएको केन्द्रले जनाएको छ।

जिराभवानी सबैभन्दा बढी प्रभावित

सर्पदंशका घटनामा सबैभन्दा धेरै प्रभावित क्षेत्र जिराभवानी गाउँपालिका भएको छ। त्यसपछि जगरनाथपुर, ठोरी र पटेर्वासुगौली गाउँपालिकाबाट पनि बिरामी आएका छन्। चितवनबाट पनि छिटपुट बिरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ।

केन्द्रका अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार, गम्भीर अवस्थाका बिरामीलाई एम्बुलेन्समार्फत नारायणी अस्पताल, वीरगञ्ज पठाउने व्यवस्था गरिएको छ। केन्द्रमा भेन्टिलेटर र आइसियूको सुविधा नरहेकाले यस्तो व्यवस्था गरिएको हो।
ठोरी गापा–४ स्थित नेपाली सेनाको सिद्धिबक्स गण निर्मलबस्ती, पानीटड्डीमा २०७६ सालको फागुन २४ गतेबाट सञ्चालनमा आएको यो उपचार केन्द्रमा उपचार सेवा पूर्ण रूपमा निःशुल्क छ। सेवा लिनेले इच्छाअनुसार दान पेटीमा दान गर्ने व्यवस्था गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै