Logo

३१ साउन,चितवन । चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको संख्या बढ्न थालेको छ। चालु आर्थिक वर्षको सुरुवाती १५ दिनमै जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५२ जनामा यी रोगको संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार २० जनामा डेङ्गु र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।

जनस्वास्थ्य अधिकृत अंशु पोखरेलले जानकारी दिएअनुसार ७९८ जनाको परीक्षण गर्दा २० जनामा डेङ्गु पोजेटिभ देखिएको हो। तीमध्ये १४ जना चितवनका र ६ जना अन्य जिल्लाबाट आएका हुन्।

संक्रमितमध्ये भरतपुर महानगरपालिका वडा नं. ७ का पाँच जना, खैरहनी नगरपालिका तीन जना, रत्ननगर र कालिका नगरपालिकाका दुई÷दुई जना रहेका छन्। संक्रमित २० जनामध्ये ५ पुरुष र ९ महिला रहेका छन्।

जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले वर्षायाममा लामखुट्टे प्रजननको अनुकूल समय हुने भएकाले साउनदेखि असोजसम्म डेङ्गुको जोखिम उच्च हुने बताए। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग बिहान र बेलुकाको समयमा फैलिने गर्छ।

उनका अनुसार प्लास्टिकका भाँडो, पुराना टायर, ड्रम, गमला, कुलरजस्ता ठाउँमा जमेको सफा पानीमा लामखुट्टेले अण्डा पार्ने भएकाले यस्ता वस्तुमा पानी जम्न नदिन आग्रह गरिएको छ।

डेङ्गु लागेपछि आँखाको गेडी दुख्ने, उच्च ज्वरो आउने, शरीरमा विविरा आउने, रक्तस्राव हुने, जोर्नी तथा मांशपेशी दुख्ने लक्षण देखा पर्छ।

त्यस्तै, स्क्रब टाइफसबाट संक्रमित ३२ जनामध्ये २३ जना चितवनका र ९ जना अन्य जिल्लाका रहेको जनाइएको छ।

यो रोग मुसामा पाइने माइट (किर्नाजस्तो कीरो) को टोकाइबाट सर्छ। मानिसबाट मानिसमा नसरिने यो रोग ओरेन्टिया सुसुगामुसी नामक जीवाणुका कारण फैलिन्छ।

रुपाखेतीका अनुसार स्क्रब टाइफस लागेमा बिरामीलाई उच्च ज्वरो, अत्यधिक पसिना, आँखा रातो हुने, झाडापखाला, अंग प्रभावित हुने र कीराले टोकेको स्थानमा कालो दाग देखिने लक्षण देखिन्छ।

नियन्त्रणका लागि खेतबारी, जंगल वा झाडीमा जानुपर्दा पूरै शरीर ढाक्ने लुगा लगाउने, जुत्ता प्रयोग गर्ने, चउर वा घाँसबारीमा दरी ओछ्याएर बस्ने तथा सिधै भुइँमा नबस्न सुझाव दिइएको छ।

जनस्वास्थ्य कार्यालयले दुबै रोगबाट बच्न सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने अपिल गरेको छ।


सम्बन्धित समाचार