१ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र भविष्यको सम्भावनाबारे छलफल भएको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
भेटका अवसरमा राष्ट्रपति पौडेलले भारतलाई मित्र राष्ट्र तथा निकट छिमेकीका रूपमा चित्रण गर्दै भारतले गरेको सामाजिक, आर्थिक र प्राविधिक प्रगतिबाट नेपाल लाभान्वीत हुँदै आएको र अझ बढी लाभ लिन चाहेको बताए।
“एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतको प्रगति देख्दा हामी उत्साहित छौँ,” राष्ट्रपति पौडेलले भने, “भारतसँगको सम्बन्धलाई नेपालले सँधै उच्च प्राथमिकतामा राखेको छ।”
राष्ट्रपति पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक तथा जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै दुवै देशबीचको सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए।
विदेश सचिव मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिलो नीति’ अन्तर्गत नेपालले सधैं प्राथमिकता पाएको उल्लेख गरे। उनले आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
साथै, उनले आधुनिक युगमा दुवै देशबीचको विकासका लागि कनेक्टिभिटी (सङ्ग जोडिने संरचना तथा संयन्त्रहरू) बढाउने विषयमा समेत छलफल हुने जानकारी गराए।
राष्ट्रपति र विदेश सचिवबीचको यो भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ।















