२ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को अद्यावधिक र नेपाल टेलिकमको हालको कार्यप्रगतिबारे आज संक्षिप्त जानकारी लिएका छन्।
सञ्चार तथा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सुशासन, विकास र समृद्धिमा गति दिनुपर्नेमा प्रधानमन्त्री ओलीले पुनः जोड दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ब्रिफिङ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, तथा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान सहभागी थिए।
डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट) तयार
हालै सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई समयसापेक्ष रूपान्तरण र विस्तार गर्ने गृहकार्य थालिएको जानकारी प्रधानमन्त्री ओलीलाई दिइएको हो।
डिजिटल नेपाल फ्रेमवर्क २.० “फास्ट” मोडेलमा तयार गरिएको छ। नयाँ प्रस्तावनामा डिजिटल पूर्वाधार, पहुँच, क्षमता विकास र रुपान्तरण जस्ता चारवटा मुख्य पिलर समावेश गरिएको छ। यसअघि समावेश गरिएका क्षेत्र – कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, वित्त र सुशासनका साथै अब सामाजिक सुरक्षा, विपद् व्यवस्थापन र जलवायु परिवर्तनलाई समेत समेटिएको छ।
कार्यान्वयन सहज बनाउन सञ्चारमन्त्रीको अध्यक्षतामा ’डिजिटल रुपान्तरण परिषद्’ गठन गर्ने प्रस्ताव गरिएको छ, जसले प्राथमिकता निर्धारणदेखि अनुगमन र प्रतिवेदन व्यवस्थापनसम्मको जिम्मा लिनेछ।
मन्त्रिपरिषद्बाट स्वीकृतिपछि कार्यान्वयन सुरु
डिजिटल नेपाल फ्रेमवर्क २.० लाई चाँडै मन्त्रिपरिषद्मा पेश गरी स्वीकृति लिएपछि कार्यान्वयनमा ल्याइने बताइएको छ। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको थियो। त्यसबेलादेखि नै उनले “डिजिटल समृद्धि” लाई आफ्नो नेतृत्वको प्राथमिकतामध्ये एक बनाएका थिए।
सरकारले अहिलेको प्रविधि युगसँग मेल खाने गरी नयाँ नीतिहरू परिमार्जन र कार्यान्वयनको तयारी तीव्र बनाएको छ।

















