२ भदौ,काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तीनकुने घटनाबारे पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले चैत १५ गते भएको घटनाबारे प्रकाश पारेका हुन्।
डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सो दिन आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि सुरक्षाका लागि प्रहरीको घेराभित्र छिरेको बताएका छन्। उनले भने, “म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना भए पनि पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ।“
उनका अनुसार, त्यसपछि एक प्रहरी अधिकारीले उनलाई “जे गर्नुभयो ठिक गर्नुभयो, अब कार्यक्रम सकेर निस्कनुस्“ भनेका थिए। त्यसपछि उनी मञ्चमा गएर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेका थिए।
प्रसाईंले सोही समयमा एक जना सादा पोशाकका प्रहरीले आफूलाई ’इन्काउन्टर’ गर्ने आदेश रहेको जानकारी दिएपछि तत्कालै उपत्यका छाडेको दाबी गरेका छन्। उनले थपे, “मलाई इन्काउन्टर गर्ने आदेश रहेछ। किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो। त्यही भएर मदन भण्डारीलाई मारियो।“
उनी उपत्यकामा कफ्र्यु लाग्नुअघि नै काठमाडौं छाडिसकेको पनि बताएका छन्।















