Logo

२ भदौ,काठमाडौं । नेपालले जनस्वास्थ्यमा ऐतिहासिक सफलता हात पार्दै रूबेला रोग निवारण गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार नेपालबाट रूबेला रोग निवारण भएको घोषणा गर्दै नेपाललाई दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौँ रूबेला मुक्त राष्ट्रको मान्यता दिएको हो।

डब्ल्यूएचओका अनुसार यो उपलब्धि नेपालले खोपबाट बच्न सकिने रोगविरुद्धको सशक्त र निरन्तर प्रयासका कारण सम्भव भएको हो।

रूबेला भाइरसको संक्रमण विशेष गरी गर्भवती महिलाका लागि खतरनाक मानिन्छ। यसले गर्भपतन, मृत शिशु जन्म, जन्मजात अपांगता जस्ता गम्भीर समस्याहरू निम्त्याउन सक्छ। तर सुरक्षित र प्रभावकारी खोपद्वारा रूबेलाबाट सजिलै जोगिन सकिन्छ।

डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले प्राप्त गरेको यो सफलता नेतृत्वको दृढ संकल्प, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको मेहनत तथा जनसमुदायको सक्रिय सहभागिताको परिणाम भएको बताइन्।

राष्ट्रिय प्रमाणीकरण समितिको प्रतिवेदनपछि निर्णय

साउन ६ देखि ८ गतेसम्म भएको क्षेत्रीय प्रमाणीकरण आयोगको बैठकले नेपालको रोग निगरानी प्रणाली र खोप कवरेज दरको समिक्षा गरेपछि नेपाललाई रूबेला निवारण भएको देशको रूपमा प्रमाणित गर्ने सिफारिस गरेको थियो।

यसअघि भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टेले रूबेला निवारण गरेका थिए।

नेपालको खोप अभियानको योगदान

नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रूबेला खोप अभियान सुरु गरेको थियो। सन् २०१६ मा दोस्रो मात्रा पनि थप गरियो। सन् २०१२, २०१६, २०२० र २०२४ मा सञ्चालन भएका खोप अभियानहरूले देशभर लाखौं बालबालिकामा जीवनरक्षक खोप पुर्‍याएको थियो।

सन् २०२४ सम्ममा नेपालले पहिलो मात्रा रूबेला खोप ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पुर्‍याउन सफल भएको थियो। ‘खोप महिना’ अभियानमार्फत छुटेका बालबालिकालाई लक्षित गर्दै ‘खोज र खोप’ कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

स्वास्थ्य मन्त्रीको बधाई

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अघि रूबेला निवारण गर्न सफल भएको उल्लेख गर्दै यो सफलता सम्पूर्ण स्वास्थ्य प्रणालीको सामूहिक प्रयासको उपलब्धि भएको बताए।

“हामी डब्ल्यूएचओ, गाभीलगायत सबै साझेदारप्रति आभारी छौँ,” मन्त्री पौडेलले भने, “अबका दिनमा खोपबाट बच्न सकिने रोगबाट कुनै पनि बालबालिका पीडित नहोस् भन्ने उद्देश्यका लागि सबै सरोकारवालाको सहयोग अझ आवश्यक छ।”

डब्ल्यूएचओको प्रतिबद्धता

नेपालस्थित डब्ल्यूएचओ प्रमुख डा. राजेश पाण्डवले नेपाललाई रूबेला निवारणको सफलतामा बधाई दिँदै यसलाई जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भनेका छन्। उनले डब्ल्यूएचओले आगामी दिनमा पनि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार