३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेस र नेकपा एमाले एकजुट भएका छन् ।
दुवै दलले आफ्ना सांसदहरूलाई हस्ताक्षर गर्नका लागि सिंहदरबार बोलाएका छन् । उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोजनका लागि भिसा जारी गर्न अमेरिकी दूतावासमा आफ्नो आधिकारिक लेटरप्याड प्रयोग गरी सिफारिस पत्र पठाएको आरोप छ । यसै आरोपका कारण उनलाई पदबाट हटाउने तयारी गरिएको हो । यसअघि पनि पटक–पटक उनलाई हटाउने प्रयास भएको थियो । तर चौतर्फी विरोधपछि त्यो रोकिएको थियो।
कसरी अगाडि बढ्दैछ प्रक्रिया ?
कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। महान्यायाधिवक्ता रमेश बडालसहितको सहभागीता रहेको उक्त बैठकमा सामाजिक सञ्जाल नियमन र उपसभामुखमाथि महाभियोग लगाउने विषयमा गहन छलफल भएको थियो। सोही छलफलको निर्णय अनुसार, दुवै दलले आजबाटै हस्ताक्षर संकलन सुरु गरेका हुन् । कांग्रेसको पदाधिकारी बैठकपछि सांसदहरू सिंहदरबारस्थित पार्टी कार्यालयमा उपस्थित हुन थालेका छन्। यस्तै, एमालेले पनि आफ्ना सांसदहरूलाई दिउँसो २ बजेभित्र हस्ताक्षर गर्न आउन भनेको छ ।















