Logo

३ भदौ,काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ।

एमाले संसदीय दलका एक सांसदका अनुसार, पार्टीले सांसदहरूलाई आज बिहान १०ः३० बजे भेला हुन निर्देशन दिएको हो। बैठकमा जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गरिने सूचनामा उल्लेख गरिएको छ।

यद्यपि छलफलको ठोस एजेन्डा खुलाइएको छैन, संसदमा विचाराधीन विवादित विधेयकहरू र तिनमा दलको धारणा तय गर्न आकस्मिक बैठक डाकिएको अनुमान गरिएको छ।

साथै, नेपाली कांग्रेस र एमालेबीच उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव लैजाने विषयमा गोप्य छलफल भइरहेको सूचना सार्वजनिक हुँदै आएको छ। त्यसै अनुरूप, सांसदहरूबाट हस्ताक्षर संकलन गर्न पनि बोलाइएको हुनसक्ने अनुमान गरिएको छ।

उपसभामुख रानामगरमाथि संसद सचिवालयको लेटरप्याड प्रयोग गरी अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोप लागिरहेको छ। यस विषयमा छानबिनको माग उठ्दै आएको छ।

रानामगर संवैधानिक परिषद्को सदस्यसमेत भएकाले, वर्तमान अवस्थामा परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नरहेको अवस्थामा एमाले–कांग्रेस मिलेर रानामगरलाई हटाउने प्रयास यसअघि पनि गरिएको थियो।

आजको आकस्मिक बैठकबाट एमालेको रणनीति र संसदको आगामी राजनीति अझ चर्किन सक्ने संकेत देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै