३ भदौ,विराटनगर । नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ।
एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको कार्यक्रममा नजान आग्रह गर्दै सर्कुलर जारी गरेका हुन्।
बस्नेतले सर्कुलरमा भनेका छन्, “केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ। तर, पार्टीका केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट यस्तो कुनै कार्यक्रम तय गरिएको छैन।”
उनले यो प्रचारलाई भ्रामक भन्दै पार्टी पंक्तिलाई झुक्किन नहुने स्पष्ट पारेका छन्। “जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन,” बस्नेतले भनेका छन्, “त्यसैले सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा यो झूटो प्रचारप्रति नझुक्किनुहुन हार्दिक अनुरोध गर्दछु।”
यसअघि पूर्वराष्ट्रपति भण्डारीको विराटनगर आगमनमा सदाझैँ पार्टीका उच्च नेताहरूले विमानस्थलमै स्वागत गर्ने परम्परा रहँदै आएको थियो। तर, यसपटक त्यो दृश्य देखिएन।
पूर्वमुख्यमन्त्री एवं एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, तथा अन्य मन्त्रीहरू अघिल्लो पटक विमानस्थल पुगे पनि यो पटक अनुपस्थित रहे।
भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी मात्र पुगेका थिए।
पूर्वराष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।















