३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ।
रास्वपाका नेताहरूका अनुसार, पार्टी अनौपचारिक तर गम्भीर आन्तरिक छलफलमा रहेको छ। यो विषयमा दलको स्पष्ट रणनीति तय गर्न र आवश्यक परे प्रतिवादमा उत्रन सक्ने संकेत नेताहरूले दिएका छन्।
प्रमुख सचेतक सन्तोष परियारले भने दुई ठूला दलहरूले संख्या बलको भरमा गलत अभ्यास गर्नु लोकतान्त्रिक मूल्य र संसदीय परम्पराका लागि घातक हुने बताएका छन्।
उनले भने, “दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ। यस्ता अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ।”
परियारका अनुसार, कांग्रेस र एमालेको पछिल्लो गतिविधि लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको छ र त्यसको विरुद्धमा कसरी जाने भन्नेबारे रास्वपा आन्तरिक छलफलमा जुटिरहेको छ।
“कसरी प्रतिवाद गर्ने, के रणनीति अपनाउने भन्नेबारे थप छलफल हुँदैछ,” प्रमुख सचेतक परियारले बताएका छन्।















