३ भदौ,वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो महिनामा वीरगञ्ज भन्सार कार्यालयले १८ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएर एउटै कार्यालयबाट सेवा दिन थालेसँगै सो राजस्व संकलन भएको हो। गत साउन १ गतेदेखि यी दुवै भन्सार कार्यालय एउटामा समायोजन गरी सेवा प्रवाह भइरहेको छ।
भन्सार कार्यालयका अनुसार, साउन महिनामा राजस्व संकलनको मासिक लक्ष्यको ८७.६८ प्रतिशत मात्र हासिल गरिएको हो। भन्सार विभागले साउन महिनाका लागि २० अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो।
पिछिल्लो वर्षको साउन महिनामा कार्यालयले १५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्षको संकलन त्यसको तुलनामा उल्लेखनीय वृद्धि हो।
भन्सार प्रमुख दीपक लामिछानेका अनुसार, विभागले वीरगञ्ज भन्सारका लागि यो आर्थिक वर्षमा कुल २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको छ।















