३ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन खोज्ने कांग्रेस र एमालेको प्रयासको कडा विरोध गर्ने बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख हटाउने योजना गलत भएको जिकिर गर्दै त्यसमा माओवादी केन्द्र सहमत नहुने स्पष्ट पारे।
“सरकार गठनदेखि नै गल्तीबाहेक अरु केही गर्न नसकेको कांग्रेस–एमाले अब सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलामाथि अन्याय गर्न लागिपरेका छन्,” प्रचण्डले भने, “उनीमाथि लगाइएको आरोप पनि कपोकल्पित छ।”
प्रचण्डले उपसभामुख रानामगरविरुद्ध चलाइएको अभियानलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै यो कार्य संसद र लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाए।
उनको भनाइमा, माओवादी केन्द्र यस्तो गलत कदमको प्रतिवादमा उत्रनेछ र लोकतान्त्रिक संस्थाको रक्षा गर्न कुनै कसर बाँकी राख्नेछैन।















