Logo

३ भदौ,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेले उपसभामुख हटाउने तयारीस्वरूप आफ्ना सांसदहरूबाट खाली कागजमा हस्ताक्षर संकलन गर्ने प्रक्रिया थालेको चर्चा चलिरहेको छ। तर कोइरालाले कारण नखुलाई खाली कागजमा हस्ताक्षर गर्न नमिल्ने अडान लिएका छन्।

शेखर निकट एक सांसदका अनुसार पार्टीले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाए पनि आफूहरूलाई आधिकारिक रूपमा केही जानकारी दिइएको छैन। ती सांसदले भने, “अहिलेसम्म मलाई केही खबर आएको छैन। म अहिलेसम्म हस्ताक्षर गर्न गएको पनि छैन। शेखर दाइले पनि हस्ताक्षर गर्नुभएन भन्ने मैले बुझेको छु।”

उपसभामुख हटाउने विषयमा कुनै औपचारिक छलफल नभएको बताउँदै उनले यसरी अराजनीतिक तरिकाले निर्णय प्रक्रिया अघि बढाउनु उचित नभएको धारणा राखे।

डा. शेखर कोइराला पछिल्लो समय सरकारको कामकारबाहीप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका छन्। उपसभामुख हटाउने प्रक्रियालाई लिएर पनि उनको यो अडान सत्ता गठबन्धनभित्र थप विवाद र मतभेदको संकेत मानिएको छ।


सम्बन्धित समाचार
भर्खरै