३ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९औँ राष्ट्रिय सूचना दिवसका अवसरमा गरिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले हरेक नागरिकले पाउनुपर्ने सूचना र गोपनीयताबीचको सन्तुलन आवश्यक रहेको उल्लेख गरे। उनले भने, “हामीले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएका हौं। स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेल गएर लडेँ। संविधानले दिएको मौलिक हकको कार्यान्वयन सरकारको प्राथमिकता हो।”
उनले अव्यावहारिक रुपमा अर्थ नबुझेर सूचना माग्ने र व्यक्तिगत गोपनीयताको हनन गर्ने प्रयासप्रति पनि ध्यानाकर्षण गराउँदै अनुशासन र मर्यादामा कार्य गर्न आग्रह गरे। प्रधानमन्त्रीले भने, “केही विषयहरू गोप्य नै रहनु पर्छ र यसको सम्मान गर्नुपर्छ। हामीले शपथ ग्रहण गर्दा पनि आवश्यक बाहेक गोप्य कुरा बाहिर ल्याउने छैनौं।”
साथै उनले सामाजिक सञ्जाललाई दर्ता र कर प्रणालीमा ल्याउने तथा यसलाई व्यवस्थित गर्न सरकार दृढ रहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीको यो वक्तव्यले सूचनाको हक र गोपनीयताबीचको सन्तुलन कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने सरकारको प्रतिबद्धतालाई दर्शाएको छ।

















