४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानबाट आएका संसदीय प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका प्रतिनिधिमण्डलसँग सभामुखको भेटवार्ता भएको हो।
पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध, क्षेत्रीय सहकार्यका सम्भावना, तथा साझा चासोका मुद्दाहरूमा सहकार्यको आवश्यकता रहेको बताए।
भेटका क्रममा सभामुखले जलवायु परिवर्तन, दिगो विकास, र पर्वतीय क्षेत्रका जनजीविकामा देखिएका चुनौतीहरूलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले व्यापार, पारवहन (कनेक्टिभिटी), तथा पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्यको ठूलो सम्भावना रहेको बताउँदै त्यसमा संसदीय तहमै छलफल र सहकार्य हुनुपर्ने धारणा राखे।
प्रतिनिधिमण्डलकी नेतृ मुनाजा हसनले नेपालद्वारा द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलतापूर्वक आयोजना गरेकोमा धन्यवाद दिँदै जलवायु परिवर्तन र पर्वतीय पारिस्थितिकी संरक्षणमा नेपालले देखाएको नेतृत्वको प्रशंसा गरिन्।
भेटवार्ताले नेपाल र पाकिस्तानबीच संसदीय कूटनीति तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

















