प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ,जनकपुरधाम । लामो समयदेखि चलिरहेको नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको जग्गा विवाद अन्ततः समाधान भएको छ। दुई संस्थाबीच आपसी सहमतिमा मंगलबार एक मिलापत्रमा हस्ताक्षर भएको हो।

यो मिलापत्रअनुसार, जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा अब दुवै संस्थाले बाँडफाँट गरेर प्रयोग गर्नेछन्। सहमतिको बुँदाअनुसार, जग्गाको केही भाग बार एसोसिएसनले पार्किङका लागि प्रयोग गर्नेछ भने बाँकी भागमा पत्रकार महासंघले आफ्नो बहुउद्देश्यीय भवन निर्माण गर्नेछ।

मिलापत्रमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गर्नुभएको छ। दुवै पक्षले यसअघि भएको विवादका घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

यस ऐतिहासिक सहमतिसँगै दुवै पक्षले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आलोचनात्मक पोस्ट नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुई दिनभित्र एकअर्काविरुद्धका सबै कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने समझदारी पनि भएको छ।

यो सहमतिलाई सम्भव बनाउन दुवै संस्थाले गठन गरेका उच्चस्तरीय वार्ता समितिको भूमिका महत्त्वपूर्ण रह्यो। बार एसोसिएसनका तर्फबाट केन्द्रीय सचिव बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र श्यामकुमार मिश्र सदस्य रहेको समिति थियो भने पत्रकार महासंघका तर्फबाट केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेका थिए।

यो मिलापत्रले पेशागत संस्थाहरूबीचको विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।


सम्बन्धित समाचार