Logo

४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार, पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकताका कारण बैठक स्थगित गरिएको हो।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयासप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको प्रवृत्ति अधिनायकवादतर्फ उन्मुख हुँदै गएको निष्कर्ष निकालेको थियो।

बैठकमा माओवादी केन्द्रले सरकारको पछिल्लो कदमलाई निरङ्कुशता लाद्ने प्रयासका रूपमा व्याख्या गर्दै संसद र लोकतान्त्रिक मूल्य–मान्यतामाथि खतरा पैदा हुन सक्ने चिन्ता व्यक्त गरेको थियो।

उपसभामुख रानामगरलाई हटाउने प्रयासमा सत्तारूढ दलहरूकै भूमिकाबारे चर्को आलोचना भइरहेका बेला माओवादी केन्द्रले भने स्पष्ट रूपमा सरकारको विरोध गरेको हो।

पार्टीले बैठक कहिले बोलाउने भन्नेबारे कुनै मिति तोकेको छैन। बैठक स्थगनले पार्टीभित्रको रणनीतिक तयारी तथा विपक्षी दलको आगामी कदमबारे विभिन्न अड्कलहरू हुन थालेका छन्।


सम्बन्धित समाचार