Logo

४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभा बैठकअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले समितिको नेतृत्व रिक्त रहनु उपयुक्त नभएको भन्दै दलहरूलाई १५ दिनभित्र सभापति चयन गर्ने वातावरण मिलाउन आह्वान गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीअनुसार, कुनै पनि संसदीय समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र त्यसको पूर्ति गर्नुपर्ने प्रावधान छ।

बैठक स्रोतका अनुसार, दलका प्रमुख सचेतक तथा सचेतकहरूले यस विषयमा तत्काल कुनै प्रतिक्रिया नदिए पनि सत्तारुढ दलहरू आन्तरिक छलफल गरेर प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाइएको छ।

यसअघि संघीय निजामती विधेयकको कुलि अफ पिरियडमा देखिएको गडबडीपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।

हाल कांग्रेसको भागमा रहेको यो समितिको सभापतिमा नेकपा एमालेले पनि दाबी गर्दै आएको स्रोतले जनाएको छ, जसले गर्दा समितिको नेतृत्व चयन प्रक्रिया अझ पेचिलो बन्ने संकेत देखिएको छ।

सभापति चयन प्रक्रिया अलपत्र हुँदा संसदमा महत्त्वपूर्ण विधेयकहरूको छलफल तथा निगरानी कार्यसमेत प्रभावित भएको छ।


सम्बन्धित समाचार