Logo

४ भदौ, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले कार्यसूची सुनाउने तयारी गर्दा राप्रपा र रास्वपाका सांसदहरू उठेर विरोध प्रदर्शन गरेका थिए। त्यसपछि सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्ने अनुमति दिए।

परियारले उपसभामुख इन्दिरा रानामगरमाथिको अवमूल्यन लोकतन्त्रमै खतरा हुने चेतावनी दिए। उनले भने, “लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदन र सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको आक्रमण भएको छ, त्यो लोकतन्त्रका लागि गम्भीर खतरा हो।”

पछिपछि राप्रपाकी सांसद रोसन कार्कीले पनि बोल्दै भिजिट भिसा प्रकरणमा बारम्बार उठाइएको माग बेवास्ता गरिएको गुनासो गरिन्। उनले स्पष्ट रूपमा भनिन्, “छानबिन समिति गठन नभएसम्म हाम्रो विरोध जारी रहनेछ।” साथै, बहिस्कार गरिएको दिनको भत्ता पनि नलिने घोषणा गरिन्।

दुवै सांसदको धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै संसद कक्षबाट बाहिरिएका थिए।

रास्वपा र राप्रपा जेठ १३ गतेदेखि निरन्तर रूपमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएका छन्। उनीहरूको मागअनुसार विशेष संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गरिनुपर्ने उनीहरूको अडान छ।

भिजिट भिसा सेटिङ प्रकरणले सरकारी संयन्त्र र प्रशासनमा उच्च तहसम्मको संलग्नता रहेको आशंका गर्दै रास्वपा र राप्रपाले गम्भीर छानबिनको माग गरेका हुन्। सत्ता गठबन्धनले भने हालसम्म सोबारे स्पष्ट निर्णय गरेको छैन।

राजनीतिक असहमति गहिरिँदै गएका बेला संसदभित्रको यस्तो निरन्तर विरोधले संसदीय कार्यसञ्चालनमा थप चुनौती पैदा गरेको छ।


सम्बन्धित समाचार