४ भदौ, काठमाडौं। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका चार जना नेपालीको शव काठमाडौं ल्याइएको छ।
नेपाली दूतावास कुवेतले शवहरू परिवारलाई बुझाइएको र अर्को एक जनाको शव आजै पठाउने तयारी भइरहेको जनाएको छ। दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, गत साता मात्रै विषाक्त मदिरा सेवनले १२ जना नेपालीको ज्यान गएको थियो। बाँकी शव ल्याउनका लागि प्रक्रिया चलिरहेको छ। हाल पनि १५ जना बिरामी नेपाली कामदारहरू कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन्, जसमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरू आईसीयूमा रहेको बताइएको छ।
कुवेतमा मदिरा प्रतिबन्धित भए पनि लुकिछिपी यसको किनबेच हुने गरेको छ। सोही मदिरा सेवन गर्दा नेपालीहरू प्रभावित भएका हुन्। यस घटनामा केही नेपाली पक्राउ परेको पनि समाचार आएको छ।
यसैबीच, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा कुवेतमा भएको नेपाली कामदारको मृत्युबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। कुवेतमा हाल करिब १ लाख ३० हजार नेपाली कार्यरत छन्।















