४ भदौ, काठमाडौं। उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को तयारी तत्कालका लागि स्थगित भएको छ।
उपसभामुख नेपाल नफर्किएसम्म यो प्रक्रिया अगाडि नबढाउने गरी दुई दलबीच सहमति भएको नेताहरूले बताएका छन्। बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठकमा यो विषयमा छलफल भएको थियो।
पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले तत्काल हस्ताक्षर प्रयोग नगरिने जानकारी दिएका छन्। ‘खाली कागजमा हस्ताक्षर गर्ने अभ्यास पुरानै हो, हामीले पनि त्यही गरेका हौं,’ उनले भने। उपसभामुख राना हाल अमेरिकाको भ्रमणमा छिन् र उनी भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ। त्यसपछि मात्रै थप छलफल हुने र हस्ताक्षर संकलन भने जारी रहने बताइएको छ।
हटाउन चाहिने बहुमत?
उपसभामुखलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्नका लागि ६९ जना सांसदको समर्थन भए पुग्छ, तर हटाउने निर्णयका लागि भने प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमत (हाल १८३ जना) आवश्यक पर्छ। कांग्रेस र एमालेका मात्रै १६७ सांसद छन्। त्यसैले, उनीहरूलाई उपसभामुख हटाउन अन्य साना दलहरूको पनि समर्थन आवश्यक पर्नेछ । यही कारण साना दलहरू भने यस विषयमा द्विविधा मा परेका छन्।

















