५ भदौ, काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी भण्डारीले अब व्यक्तिगत प्रचार र सामाजिक पहलका गतिविधिहरू अघि बढाउने तयारीस्वरूप यो कार्यालय सञ्चालनमा ल्याउने भएकी हुन्।
बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका रूपमा उद्घाटन गर्न लागिएको हो। दिउँसो २ बजे हुने उद्घाटन समारोहमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको विशेष सम्बोधन रहनेछ।
यो घर विद्यादेवी भण्डारीका लागि नयाँ होइन। २०५१ सालको संसदीय चुनावताका उनले यही घरलाई आफ्नो प्रचार कार्यालयको रूपमा प्रयोग गरेकी थिइन्। अब पुनः त्यही स्थानबाट आफ्नो अभियानलाई सक्रिय बनाउँदै अघि बढ्न लागेकी छिन्।
राजनीतिक वृत्तमा विद्याको यो सक्रियता भावी योजना र भूमिकासँग पनि जोडेर हेरिएको छ। उद्घाटन समारोहमा एमाले नेताहरू, पूर्वराष्ट्रियसभाका सदस्यहरू, स्थानीय नेताहरू तथा समर्थकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।















