५ भदौ, काठमाडौँ । शिक्षा विधेयकमा शिक्षकले बहुविवाह गर्न नहुने भन्ने प्रावधानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले आपत्ति जनाएका छन्।
उनले यो व्यवस्था हटाउन माग गर्दै यसले शिक्षकलाई मात्रै विभेद गरेको तर्क गरेका छन्। आज संसदमा बोल्दै सांसद चौधरीले विधेयकको परिच्छेद ८ मा रहेको ‘सार्वजनिक विद्यालयका शिक्षकको आचरणु सम्बन्धी नियममा यो बुँदा राख्नु न्यायोचित नभएको बताए। उनको भनाइ छ, ‘बहुविवाह गर्नु नहुने भन्ने कुरा सबैलाई लागू हुनुपर्छ, शिक्षकलाई मात्रै लक्षित गर्नु उचित होइन। यसले अरुले बहुविवाह गर्दा हुने तर शिक्षकले मात्रै गर्न नहुने भन्ने अर्थ लाग्छ।
सांसद चौधरीले यसअघि नेपाल शिक्षक संघले पनि यस प्रावधानप्रति असहमति जनाइसकेको कुरा स्मरण गराए। यसरी शिक्षकलाई मात्रै लक्षित गरिएको यो नियमले उनीहरूको अधिकारमाथि प्रश्न उठाएको उनको भनाइ छ।















