प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ भदौ,वीरगञ्ज । सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि ३५ दिने निवेदन संकलनको सूचना जारी गरे पनि पर्साको पकाहाँमैनपुर गाउँपालिका-२ का वडाध्यक्ष मुकुट प्रसाद चौहानले सिफारिस दिन नमानेको भन्दै आज भूमि समस्या समाधान आयोगलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

वडाध्यक्षको गैरजिम्मेवार व्यवहारले गर्दा सयौँ भूमिहीन र सुकुम्बासीहरू आफ्नो मौलिक हकबाट वञ्चित भएको भन्दै एक प्रतिनिधि टोलीले आयोगका अध्यक्ष तबरेज अहमदलाई उक्त पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझाउने टोलीको नेतृत्व गरेका प्रतिनिधिले भने, “सरकारले भूमिहीन तथा सुकुम्बासीका लागि ऐतिहासिक अवसर ल्याउँदा पनि स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिहरूको गैरजिम्मेवार व्यवहारले आम नागरिक वञ्चित हुनु दुःखद छ।”

उनले वडाध्यक्ष चौहानको सिफारिस नपाउँदा वडाका हजारौँ भूमिहीन दलित र सुकुम्बासीले आवेदन दिनै नसकेको बताए। उनले तत्काल सिफारिस प्रक्रिया सुरु गर्न पनि माग गरेका छन्। यस विषयमा आयोगको ध्यानाकर्षण गराउनुको मुख्य उद्देश्य स्थानीय जनप्रतिनिधिहरूमाथि आवश्यक निर्देशन जारी गरी वञ्चित वर्गको अधिकार सुनिश्चित गराउनु रहेको स्पष्ट पारिएको छ।


सम्बन्धित समाचार