प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ भदौ,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापन कार्यलाई संस्थागत रूपमा अघि बढाउने निर्णय गरेको छ। यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरी सम्पदाको सूचिकरण, नियमन र पारदर्शी सञ्चालनको प्रक्रिया सुरु गरेको हो।

महानगरले सम्पदा संरक्षणसम्बन्धी विशेष ऐन निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ। सो ऐनअनुसार, महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक सम्पदाहरूको अभिलेख संकलन गरी सूची तयार पारिनेछ। प्रत्येक वडा कार्यालयमार्फत तथ्यांक संकलन कार्य सुरु भइसकेको महानगरले जनाएको छ। अभिलेख संकलनपछि सम्पदाहरूलाई अनिवार्य रूपमा सूचिकृत गरी संरक्षण र संवद्र्धनका लागि दीर्घकालीन कार्ययोजना अघि बढाइनेछ।

समिति गठन

समितिको संयोजक महानगरका मेयर राजेशमान सिंह रहेका छन्। उउक्त समितिमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा अध्यक्षहरु जगत साह कानु र प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यका रूपमा रहेका छन् ।सदस्य सचिवमा शाखा अधिकृत सुशीला देवकोटा रहेकी छन् । समितिका सदस्यहरूलाई बिहीबार पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदानसमेत गरिएको छ।

सम्पदामा पारदर्शिता र नियमन

मेयर सिंहका अनुसार धार्मिक सम्पदाहरू अब व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गरिनेछन्। कतिपय मठ–मन्दिर, मस्जिद र गुम्बाहरू व्यक्तिगत स्वार्थमा चलिरहेको भन्दै अबदेखि दान–चन्दा दुरुपयोग नहोस् भनेर कडाइका साथ कानुनी प्रावधानहरू लागू गरिने जानकारी दिए। उनले भने,“हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवद्र्धनमै खर्च हुने वातावरण सिर्जना गर्नुपर्छ।”

आगामी योजना

समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सार्वजनिक सूची प्रकाशन गर्नेछ। त्यसको आधारमा संरक्षण, संवद्र्धन र व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको छ। महानगरले यस अभियानबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको दीर्घकालीन संरक्षण हुनेछ भन्ने विश्वास लिएको छ। साथै, यसले वीरगञ्जको सांस्कृतिक पहिचान सुरक्षित राख्न समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार