६ भदौ, वीरगञ्ज । मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि बस्ने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख हरीशंकर मिश्रले प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिए ।
विज्ञप्तिअनुसार गत भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
“प्रदेश प्रमुखबाट भदौ १२ गते बिहीबार दिउँसो १ बजेका लागि मधेस प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
यसअघि भएको पाँचौँ अधिवेशनमा बजेट, कानुन निर्माण र विभिन्न नीतिगत छलफल सम्पन्न भएका थिए । आसन्न छैटौँ अधिवेशनमा पनि महत्वपूर्ण विधेयक तथा राजनीतिक छलफल हुने अपेक्षा गरिएको छ ।















