Logo

फाइल तस्बिर

७ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजा (कोलेरा) को संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। शुक्रबार ३ जनामा हैजाको पुष्टि भएकोमा शनिबार थप ७ जना नयाँ संक्रमित फेला परेका छन्। दुई दिनमा १० जनामा हैजा पुष्टि भइसकेको छ भने झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ।

नारायणी अस्पतालमा उपचाररत १५ जना झाडापखालाका बिरामीमध्ये शनिबार परीक्षण गरिएका ८ जनामध्ये ५ जनामा हैजा पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। उनका अनुसार संक्रमित सबै वीरगन्ज महानगरपालिका–१२, मुर्ली टोलका हुन्।

त्यस्तै, वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजु साहका अनुसार, शनिवार थप दुई जना अन्य अस्पतालमा उपचाररत बिरामीमा पनि हैजा पुष्टि भएको छ। ती बिरामीहरू वडा नम्बर ११ र १३ का हुन्।

यसअघि शुक्रबार, तराई अस्पतालमा गरिएको परीक्षणमा ३० बिरामीमध्ये ३ जनामा हैजा संक्रमण देखिएको थियो।

वीरगन्ज–१४, बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा पनि झाडापखालाका लक्षण देखिएका १३ जना बिरामी उपचाररत छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको नमूना परीक्षणका लागि पर्सा स्वास्थ्य कार्यालयमा पठाइएको अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिएका छन्।

यसैबीच, शुक्रबार साँझ झाडापखालाका कारण उपचारका लागि ल्याइएका दुई बिरामीको मृत्यु भएको छ। वीरगञ्ज हेल्थ केयर अस्पतालमा पर्सा, पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा वीरगन्ज–१६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। यद्यपि, उनीहरूको हैजाकै कारण मृत्यु भएको हो कि होइन भन्ने पुष्टि भने भइसकेको छैन।

महानगरको सक्रियता

हैजा देखिएलगत्तै वीरगञ्ज महानगरपालिकाले रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूको टोली तत्काल खटाएको छ। महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा शुक्रबार रातिदेखि नै टोली प्रभावित क्षेत्रमा खटिएको थियो।

टोलीले मुर्ली टोलका घरमा पिउन प्रयोग गरिएको पानीको नमूना संकलन गरी थप परीक्षणका लागि काठमाडौं टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

उनका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता हैजाको पहिलोपटक यति व्यापक रूपमा प्रकोप देखिएको हो।

हैजा के हो?

हैजा (कोलेरा) एक संक्रामक रोग हो, जुन भिब्रियो कोलरी नामक जीवाणुका कारण हुने गर्दछ। यो जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्छ। यस रोगका लक्षणहरूमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने, र ज्वरो आउने जस्ता समस्या देखिन्छन्।

सावधानीका उपायहरू:

  • उमालिएको वा सुरक्षित पानी मात्र पिउने
  • खाद्य सामग्री राम्रोसँग पकाएर खाने
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने
  • झाडापखाला भएका बिरामीलाई तुरुन्त अस्पताल लग्ने


सम्बन्धित समाचार