Logo

७ भदौ,वीरगञ्ज । वीरगञ्ज – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ११ करोडले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा ६० अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको थियो।
निर्यातमा तीन गुणा वृद्धि

साउन महिनामा निर्याततर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान विभिन्न देशमा निर्यात गरिएको छ। गत वर्षको साउनमा यो आँकडा मात्र ३ अर्ब ५ करोड रुपैयाँ थियो।

राजस्व संकलनमा २ अर्ब ५२ करोडको वृद्धि

राजस्व संकलनमा पनि वृद्धि देखिएको छ। भन्सार कार्यालयका अनुसार चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ। अघिल्लो वर्षको साउनमा संकलन गरिएको राजस्व १५ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो।

आयात, निर्यात र राजस्व संकलनको यो वृद्धि वीरगञ्ज नाकाको व्यापारिक गतिविधिमा सुधार आएको संकेत हो। साथै, चालु आवको सुरुआतमै यस्तो सकारात्मक आँकडा आउनुले सञ्चित आर्थिक गतिशीलता र सीमा नाकाको प्रभावकारिता समेत झल्काउँछ।

भन्सार कार्यालयका अधिकारीहरूले वस्तु प्रवाहमा सहजता, प्रशासनिक सुधार र सूचना प्रविधिको उपयोगले समेत व्यापार वृद्धि र राजस्व संकलनमा सहयोग पु¥याएको बताएका छन्।


सम्बन्धित समाचार