७ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण महामारीको रूपमा फैलिन थालेपछि स्थानीय प्रशासन सतर्क भएको छ। विभिन्न अस्पतालमा झाडापखालाको उपचार गराइरहेका बिरामीहरूको परीक्षण गर्दा हालसम्म २८ जनामा हैजाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार संक्रमण वीरगन्ज महानगरपालिका वडा नम्बर ११, १२ र १३ मा फैलिएको छ। विशेष गरी वडा नम्बर १२, मुर्लीको नयाँ टोलबाट संक्रमणको सुरुवात भएको थियो। सोही क्षेत्रमा झाडापखालाका लक्षण देखिएका करिब ३० जना बिरामीमध्ये धेरैजसो तराई हस्पिटलमा भर्ना भएका थिए। एकैपटक धेरै बिरामी आएपछि अस्पतालले महानगरलाई जानकारी दिएको र त्यसपछि परीक्षणका क्रममा सुरुमा तीन जनामा हैजा पुष्टि भएको जनाइएको छ।
तीनमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ। संक्रमण पुष्टि भएसँगै जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरी घर–घरमा बिरामीको खोजी, परीक्षण र जनचेतनामूलक गतिविधि तीव्र बनाएको छ।
महानगरपालिकाले संक्रमण फैलन नदिन कडा कदम चालेको छ। अर्को सूचना जारी नभएसम्मका लागि भाजा, चटपटे, पानीपुरीलगायत ‘स्ट्रिट फुड’को बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै, सरसफाइमा ध्यान दिन, पानी उमालेर मात्र पिउन, खाना पकाउँदा सफा राख्न र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरिएको छ।
प्रदेश र स्थानीय सरकार हैजा नियन्त्रणका लागि आवश्यक उपायहरूमा जुटिरहेका छन्। स्वास्थ्यकर्मीको टोली जोखिम क्षेत्रहरूमा घर–घर पुगेर निगरानी गरिरहेको छ। स्वास्थ्य विशेषज्ञहरूले यो संक्रमणलाई गम्भीरतापूर्वक लिनु पर्ने र जनचेतना नै यसबाट बच्ने मुख्य उपाय भएको बताएका छन्।

















