Logo

७ भदौ,वीरगञ्ज ।वीरगञ्जमा हैजा संक्रमण बढ्दै गएपछि संघीय सरकारको तर्फबाट पनि तत्काल कदम चालिएको छ। खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्रालयले मन्त्री प्रदीप यादवको निर्देशनमा पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको प्राविधिक टोली वीरगन्जमा खटाएको छ।

खानेपानी परीक्षणका लागि आवश्यक उपकरणसहितको टोली हाल हैजा प्रभावित क्षेत्रहरूमा सक्रिय रहेको मन्त्री यादवले जानकारी दिएका छन्। “तराई–मधेसमा खानेपानीको समस्या पुरानै हो,” उनले भने, “तर अहिले वीरगन्जमा हैजा देखिनु गम्भीर चिन्ताको विषय हो, त्यसैले हामीले तत्काल पानी परीक्षणको व्यवस्था गरेका छौं।”

मन्त्री यादव शनिबार स्वयं वीरगन्जको मूर्ली र नारायणी अस्पताल पुगेर हैजाबाट संक्रमित बिरामीहरूको अवस्थाबारे जानकारी लिएका थिए। त्यहाँ उनले पानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरेका थिए।

उनले स्थानीय प्रशासन तथा स्वास्थ्य अधिकारीहरूसँग समन्वय गरी हैजा नियन्त्रणका लागि प्रभावकारी उपायहरू तत्काल लागू गर्न निर्देशन पनि दिएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईन्जिनियर रामकुमार श्रेष्ठले मन्त्रीको निर्देशनपछि विभागबाट आवश्यक उपकरण र ‘पियुष’ लगायतका शुद्धिकरण सामग्रीसहित प्राविधिक टोली खटाइएको जानकारी दिए। “टोलीले अहिले पानी परीक्षणसँगै जनचेतना फैलाउने कार्य पनि सुरु गरिसकेको छ,” श्रेष्ठले बताए।

सरकारले संक्रमणलाई नियन्त्रणमा लिन शुद्ध पानीको आपूर्ति, सरसफाइ सुधार र प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको जनाएको छ।


सम्बन्धित समाचार