Logo

८ भदौ, वीरगञ्ज ।वीरगञ्जमा हैजाको प्रकोप फैलिँदै जाँदा महानगरपालिकाका मेयर राजेशमान सिंह ले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भएर काम गर्न निर्देशन दिएका छन्। उनले अहिलेको अवस्था आत्तिने नभई एकजुट प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरेका छन्।

मेयर सिंहले भने, “अहिलेसम्म डराउनुपर्ने अवस्था छैन। हैजा नियन्त्रण उन्मुखमै छ र महानगरले आवश्यक सबै उपायहरू अपनाइरहेको छ।”

उनका अनुसार बिरामी देखिएपछि उपचारमा ढिलाइ हुन नदिन वीरगञ्जका सबै अस्पतालहरूलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइसकिएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन

महानगरले हैजाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको विशेष टोली खटाइसकेको छ। ती टोलीहरूले प्रभावित वडाका घरघरमा पुगेर संक्रमणको अवस्था अवलोकन गर्ने, संभावित संक्रमितहरू पहिचान गर्ने, स्वास्थ्य परामर्श दिने, र सचेतनामूलक अभियान सञ्चालन गर्ने कार्यलाई तीव्रता दिएका छन्।

मेयर सिंहले सबै कर्मचारीलाई नागरिकहरूमाझ स्वच्छ पानी पिउन आग्रह गर्न, खाद्य सामग्री राम्रोसँग पकाएर सेवन गर्न, र व्यक्तिगत सरसफाइमा ध्यान दिन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।

प्रशासनिक संयन्त्र सक्रिय पारिँदै

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण ले हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिएका छन्।

उनले भने, “सबै कर्मचारीले आफ्नो जिम्मेवारी गम्भीरताका साथ निर्वाह गर्नुपर्छ। महामारी नियन्त्रणमा समन्वय, सूचना आदानप्रदान र उपचार व्यवस्थामा कुनै कमी हुन नदिन महानगर प्रतिबद्ध छ।”

नियन्त्रणका लागि महानगरका पहलहरू

महानगरले हैजा नियन्त्रणका लागि निम्न कदमहरू चालेको जनाएको छ:

  • हेल्प डेस्क स्थापना

  • जोखिमयुक्त क्षेत्रमा नियमित अनुगमन

  • पानीको नमूना परीक्षण

  • सरसफाइ कार्यक्रमलाई तीव्रता


सम्बन्धित समाचार