प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ भदौ,वीरगञ्ज । छिमेकी वीरगञ्ज महानगरपालिकासहित पर्सा जिल्लामा हैजाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि प्रसौनी गाउँपालिकाले आफ्नो क्षेत्रमा उच्च सतर्कता जारी गर्दै जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ।

गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालद्वारा आइतबार जारी गरिएको सूचनामा, वीरगञ्जसँग सिमाना जोडिएकाले हैजा प्रसौनीसम्म पनि फैलिन सक्ने सम्भावना उच्च रहेको उल्लेख गरिएको छ। यस अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न नियमहरू लागू गरेको छ।

गाउँपालिकाले चटपटे, पानीपुरी, चाट र माछा जस्ता सडक पेटीमा बिक्री हुने खाद्य वस्तुहरूको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ। यस किसिमका खाद्य वस्तुहरूबाट संक्रमण फैलिने उच्च सम्भावना रहेको भन्दै यस्तो कदम चालिएको जनाइएको छ।

होटेल तथा रेस्टुरेन्टहरूलाई सफा र सुरक्षित तरिकाले खाना भण्डारण तथा बिक्री गर्न निर्देशन दिइएको छ। खुला स्थानमा दिसा–पिसाब गर्न पूर्ण निषेध गरिएको छ, र सबैलाई अनिवार्य रूपमा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ।

सूचनामा जनाइएको छ कि खाना खानुअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्ने, उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउनुपर्ने, र सडेगलेका वा बासी खानेकुरा सेवन नगर्नुपर्ने छ। गाउँपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरूलाई पनि उच्च सतर्कतामा रहन निर्देशन दिएको छ र आवश्यक परेमा तत्काल स्वास्थ्य सेवा प्रदान गर्न तयारी अवस्थामा रहन आग्रह गरेको छ।


सम्बन्धित समाचार