९ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हैजाको नाममा डर फैलाएर व्यापार गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले निजी अस्पतालहरूलाई लक्षित गर्दै भने, “सरकारी अस्पताल नारायणीमा साधारण बेडमै हैजाको उपचार सम्भव हुँदा निजी अस्पतालहरूले सिधै आइसियुमा राखेर व्यापार गर्न खोज्नु गम्भीर विषय हो।”
वीरगंजमा आयोजित हैजा नियन्त्रणसम्बन्धी अन्तरक्रियात्मक छलफलमा बोल्दै मेयर सिंहले हैजा नियन्त्रण स्वास्थ्य विज्ञान र सेवा समर्पणको विषय भएको तर कतिपय निजी संस्थाहरू यसलाई कमाइको माध्यम बनाउने प्रयासमा लागेको बताए।
“हैजालाई हौवा बनाएर डर देखाउने र परीक्षणको नाममा महँगा किट बेच्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो कार्यलाई महानगरले कुनै हालतमा स्वीकार गर्ने छैन,” सिंहले स्पष्ट रूपमा चेतावनी दिए। उनले प्रभावित क्षेत्रमा औषधीजन्य सामग्री तथा सेवाको वितरणमा एकद्वार नीति लागू गरिने जानकारी गराउँदै, सरकारले नै आवश्यक किट निःशुल्क उपलब्ध गराउने जनाए।
सिंहले स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ लगायतका संस्थासँग समन्वय गरी हैजा नियन्त्रणमा महानगर सक्रिय रहेको पनि जानकारी दिए। कार्यक्रममा सहभागी जनस्वास्थ्य प्रशासक, चिकित्सक र सरोकारवालाहरूले पनि हैजा उपचारका लागि अत्यावश्यक सेवा बाहेक अनावश्यक ICU प्रयोग नगर्न सुझाव दिएका थिए।
स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले पनि एक जना हैजा संक्रमित भेटिएपछि अन्य लक्षण देखिएका बिरामीहरूमा दोहोरिएको परीक्षणभन्दा उपचारमै ध्यान केन्द्रित गर्नुपर्ने बताए। यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीरगंज आइपुगेका छन्। उनले नारायणी अस्पतालको स्थलगत निरीक्षण गरी हैजा नियन्त्रणका कार्यहरूबारे जानकारी लिने र सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यक्रम रहेको छ।

















