९ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारले बिना तयारी अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अन्याय भएको बताएका छन्। उनले सवारीधनीले सवारीसाधन किन्दा नै नम्बर प्लेटको शुल्क तिरिसकेकोले यो नयाँ निर्णयलाई आर्थिक शोषण भएको आरोप लगाए।
’लाइसेन्स दिन नसक्ने सरकारले जबरजस्ती निर्णय गर्यो’
सांसद श्रेष्ठले सरकारको यो कदमलाई जनभावनाविपरीत भएको बताएका छन्। उनले इम्बोस्ड नम्बरको औचित्य पुष्टि नगरी, आवश्यक पूर्वाधार र प्राविधिक तयारीबिना नै यो निर्णय गरिएकोमा आपत्ति जनाए।
उनका अनुसार, लाखौं नागरिकलाई चालक अनुमति पत्र (लाइसेन्स) समेत दिन नसकिरहेको सरकारले नेपाली भाषा र लिपिको संवेदनशीलतालाई समेत बेवास्ता गर्दै जबरजस्ती यो निर्णय लागू गर्नु गलत छ। यो निर्णयले जनतालाई थप आर्थिक भार पर्ने र सेवा प्रवाहमा थप अव्यवस्था सिर्जना हुने उनको भनाइ छ।















