Logo

११ भदौ, काठमाडौँ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीधनीलाई जरिवाना वा कारवाहीमा पर्ने भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ।

हाल विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आगामी असोज १ गतेदेखि नम्बर प्लेट जडान नगरेमा जरिवाना तिर्नुपर्ने वा जेल जानुपर्ने भन्ने प्रचार भइरहेकामा विभागले त्यसमा कुनै सत्यता नरहेको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो ।

विभागले तत्कालका लागि कुनै पनि प्रकारको जरिवाना वा दण्ड नलगाइने स्पष्ट गर्दै, सवारीसाधन धनीले आफू दर्ता गराएको सम्बन्धित यातायात कार्यालयमै पुगेर स्वेच्छाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ । विभागका अनुसार डिजिटाइजेशन प्रक्रिया सहज र छिटो बनाउन आवश्यक पूर्वाधार तथा जनशक्ति प्रदेश कार्यालयहरूमा परिचालन गरिएको छ ।

यससँगै सेवाग्राहीको सुविधाका लागि आवश्यकताअनुसार थप प्रबन्ध पनि गरिएको विभागले जानकारी दिएको छ ।

यस्तै, इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषासम्बन्धी विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासले समेत अंग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक वा कानुनी त्रुटि नभएको ठहर गरेको विभागले स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार